धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका धादिङद्वारा आयोजित गृहणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत ३९ जना महिलाहरुलाई ५ दिने आधारभूत होमस्टे तालिम गाउँपालिका कै वडा न १ मा संचालन गरि प्रत्यक्ष होमस्टेको अध्यन अबलोकन तथा समापन गोर्खाको गण्डकी गाउँपालिका स्थित “पातीस्वारा मनमोहक रमाइलो होमस्टे”मा गरिएको छ ।
गाउँपालिकाले आर्थिक रूपले कमजोर, सिमान्तकृत, आदिवासी जनजाति, तामाङ, मगर, दराई लगायत अन्य समुदायका गृहिणी महिलाहरूलाई आर्थिक रूपले सक्षम बनाउन र मौलिक संस्कृति, रीतिरिवाज तथा परम्परालाई जगेर्ना गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो।
तालिम अवधिमा सहभागी महिलाहरूलाई पाहुनाको स्वागत–सत्कार, होमस्टे व्यवस्थापन, होमस्टे सञ्चालनका कानुनी तथा प्रशासनिक पक्ष, सरसफाइ, आतिथ्य सत्कार, र स्थानीय रूपमा उपलब्ध अर्गानिक उत्पादनलाई परिकारका रूपमा प्रयोग गरी पकाउने सीप लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको प्रमुख प्रशिक्षक तथा होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाले बताउनु भयो ।
तालिममा करिब ४५ प्रकारका परिकार बनाउने तरिका सिकाइएको प्रमुख प्रशिक्षक बास्तोलाले जानकारी दिनुभयो। उहाँले तालिम अवधिभर सहभागी महिलाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने तरिका, स्थानीय उत्पादनलाई सदुपयोग गर्ने सीप, र पर्यटक आकर्षण बढाउने उपायबारे समेत प्रशिक्षण दिनुभएको थियो।
५ दिनसम्म सञ्चालन भएको तालिमपश्चात अध्ययन अवलोकन भ्रमणका लागि सहभागी टोली गोर्खाको गण्डकी गाउँपालिका स्थित ‘पातीस्वारा मनमोहक रमाइलो होमस्टे’ पुगेर प्रत्यक्ष रूपमा सफल होमस्टे सञ्चालनको अनुभव लिएको छ। अवलोकन भ्रमणबाट सहभागी महिलाहरूले थप उत्साह र आत्मविश्वास हासिल गरेको बताएका छन्।
तालिमको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष देबराज धरेल, वडा अध्यक्ष कुसबहादुर सिटौला, हरि बिसी, कपिल थापा, योजना शाखा प्रमुख नवराज श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख बिना सिटौला, कृषि शाखा प्रमुख केपी भट्टराई, गाउँपालिकाका कर्मचारी, प्रशिक्षक तथा तालिम सहभागीहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा उपाध्यक्ष धरेलले तालिमले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने र गाउँमै रोजगारी सिर्जना गर्ने बाटो खुलेको बताउनुभयो। उहाँले महिलाहरूले प्राप्त सीपलाई व्यवहारमा उतारी आफ्नै गाउँमा होमस्टे सञ्चालन गरी आम्दानी बढाउन आग्रह गर्नुभयो।
सहभागी महिलाहरूले गाउँपालिकालाई यस्तो उपयोगी तालिम प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आ–आफ्नो गाउँ, टोलमा होमस्टे स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा समेत यस्ता तालिम तथा क्षमता विकासका कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।