रुवीभ्यालीका किसानहरुलाई खर्क व्यवस्थापन सम्बन्धि तालिम प्रदान

धादिङ । जिल्लाको हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका–१, लिन्जोमा खर्क व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। स्थानीय किसानलाई चौरी, भेडा र बाख्रापालनमा दक्ष बनाउन आयोजना गरिएको पाँचदिने तालिममा किसानहरू उत्साहजनक सहभागिता देखिएको छ।

तालिममा खर्कको उचित संरक्षण, पशु पालनका समस्या र रोग व्यवस्थापनबारे व्यावहारिक ज्ञान दिइएको थियो। साथै, भेडा, चौरी र बाख्रापालन व्यवसायलाई व्यवस्थित र आम्दानीमुखी बनाउने उपायहरूबारे छलफल गरिएको छ।

कार्यक्रमपछि किसानहरूले आफ्नै नेतृत्वमा चौरी पालक, भेडा पालक र बाख्रा पालक समूह गठन गरेका छन्। स्थानीय खर्क संरक्षण र पशुधन व्यवस्थापनलाई व्यवस्थित गर्दै व्यवसायिक रूप दिने लक्ष्य लिएको किसानहरूको भनाइ छ।

तालिममा सहभागी किसानहरूले २ वटा भेडा फार्म र १ चौरी फार्म अवलोकन गर्दै व्यावहारिक अनुभव लिएका थिए। क्षेत्रको मौजुदा ८ हजार भेडा र थोरै चौरी तथा याकलाई संरक्षण गर्दै संख्या वृद्धि गर्ने प्रतिबद्धता समेत किसानहरूले जनाएका छन्।

सहजीकरणको भूमिकामा वन तथा पशु विज्ञहरू सक्रिय रहेका थिए। आगामी दिनमा अन्य हिमाली बस्तीहरूमा समेत यस्ता तालिम सञ्चालन गरिने योजना रहेको आयोजक पक्षले जनाएको छ।