नीलकण्ठ क्याम्पस प्रमुख छनोट मापदण्ड विपरीत: उप-प्राध्यापक अधिकारी द्वारा असन्तुष्टि

धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा क्याम्पस प्रमुख पदको छनोट प्रक्रियामा प्राज्ञिक मापदण्डको बेवास्ता गरिएको भन्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा उप–प्राध्यापक देवीप्रसाद अधिकारीले गम्भीर आपत्ति जनाउँदै ज्ञापनपत्र पेश गरेका छन्।

मिति २०८२ बैशाख ३१ गते प्रकाशित क्याम्पस प्रमुख पदको विज्ञापनमा योग्य तथा प्राज्ञिक व्यक्तित्वलाई अवसर दिनुपर्छ भन्ने मापदण्ड उल्लंघन गर्दै मनोमानी ढंगले छनोट प्रक्रिया अघि बढाइएको उनको आरोप छ। अधिकारीले क्याम्पस जस्तो उच्च शिक्षालयमा योग्य, प्रतिष्ठित, उच्च मनोबलका साथ विशेष प्राज्ञिक अभ्यास र अनुसन्धानमा दखल राख्ने प्राध्यापक स्तरका व्यक्तिलाई मात्र क्याम्पस प्रमुख चयन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले विज्ञापनको मापदण्डले योग्य उम्मेदवारलाई प्रोत्साहन नदिने र क्याम्पसको शैक्षिक प्रतिष्ठामा गम्भीर असर पर्ने भन्दै तुरुन्त नयाँ समिति गठन गरी निष्पक्ष र मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आग्रह गरेका छन्।

यदि उक्त विषयलाई वेवास्ता गरिएमा उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिले लिनुपर्ने चेतावनी समेत अधिकारीले दिएका छन्।