धादिङ अस्पतालमा पहिलोपटक एन्डोस्कोपी सेवा सञ्चालन

धादिङबेसी । धादिङ जिल्लामा पहिलोपटक एन्डोस्कोपी सेवा औपचारिक रूपमा सुरु गरिएको छ। जिल्लाको सदरमुकाम धादिङबेसीस्थित धादिङ अस्पतालमा मंगलबारदेखि यो सेवा प्रदान थालिएको हो।

काठमाडौँ मेडिकल कलेज तथा टिचिङ अस्पतालका विशेषज्ञ डाक्टर रोमी दाहालको प्राविधिक सहकार्यमा सेवा सुरु गरिएको जानकारी अस्पताल निर्देशक डा. गगन अधिकारीले दिनुभयो। पेट, आन्द्रा, घाँटी लगायत शरीरको भित्री भागको जाँच गर्न अत्यावश्यक मानिने यो प्रक्रिया अब जिल्लामै सम्भव हुने भएको छ।

एन्डोस्कोपी एक विशेष उपकरण ‘एन्डोस्कोप’ प्रयोग गरी भित्री अंगको अवलोकन तथा परीक्षण गर्ने प्रविधि हो। लामो र लचिलो नलीसहित क्यामेरा र बत्ती जडान गरिएको उपकरणमार्फत पेट दुखाइ, सुजन, ट्युमर, रक्तस्राव जस्ता समस्या पहिचान गर्न सकिनेछ।

बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण उपलब्ध गराएको हो। अस्पताल सञ्चालक समिति अध्यक्ष राधिका सापकोटाका अनुसार, स्थानीयको सेवा आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न विशेषज्ञ सेवा विस्तार गर्ने योजनाअनुसार एन्डोस्कोपी सेवा सुरु गरिएको हो।

अस्पतालले अब जटिल प्रकृतिका रोगहरूको परीक्षण र सामान्य शल्यक्रिया समेत यहीँ उपलब्ध गराउने तयारी गरिरहेको छ। गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै आगामी दिनमा थप आधुनिक उपकरण र सेवाहरू थप गर्ने योजना रहेको जानकारी अस्पताल प्रशासनले दिएको छ।