काठमाडौं । महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ। वर्षाका कारण छोट्याइएको खेलमा नेपालले ५.४ ओभरमै लक्ष्य पूरा गर्दै सानदार जित हात पारेको हो।
नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २४ रन जोडिन्। उपकप्तान पूजा महतोले १३ रन बनाइन् भने सम्झना खड्का र रुविना क्षेत्रीले क्रमशः ५ र नटआउट ४ रनको योगदान गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। रसिका रोड्रिगोले २४ र दीपिका रासंगिकाले २३ रन बनाइन्।
बलिङतर्फ नेपालले विकेट त लिन नसके पनि उत्कृष्ट फिल्डिङ गर्दै बहराइनका तीन ब्याटरलाई रनआउट गर्यो। बहराइनकी पवित्र शेट्टीले ३ विकेट लिएकी थिइन्।
जितसँगै नेपालले एसिया छनोटमा आफ्नो अङ्क तालिका सुधार गर्दै अर्को चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।