कास्की । कास्कीको पोखरा महानगरपालिका–३२ स्थित लामेआहालमा बुधबार यात्रुवाहक ईभी हायस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। धादिङबाट पोखरा जाँदै गरेको ग १ ज ८६३० नम्बरको हायस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा परी धादिङकी झाँङमाया गुरुङको घटनास्थलमै मृत्यु भएको छ। अन्य दुई मृतकको सनाखत हुन बाँकी छ। घाइतेमध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन्।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा हावाहुरी र वर्षासहितको मौसममा तीव्र गतिका कारण सवारी अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।