काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशन आगामी जेठ २५–२८ गते काठमाडौँमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र छ, तर अहिले अध्यक्ष पदका आकांक्षी र उमेरहदको विषयले संगठन तातिएको छ।
हाल उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी र महासचिव नरेश रोकाया अध्यक्ष पदका दाबेदार छन्। तर, ३० वा ३२ वर्षे उमेरहद लागू भएमा यी सबै उमेर नाघिसकेकाले उम्मेदवार बन्न नपाउनेछन्। यस्तो अवस्थामा १७ सदस्यीय कमिटीमा ५ जना सचिव मात्र उम्मेदवार बन्न सक्नेछन्।
नेता घर्ती, गिरी, विष्ट, धर्म गिरी र रोकायाले उमेरहद नभए आफू बलियो दाबेदार रहेको बताएका छन्। अर्कातर्फ सचिवहरू अञ्जना सिवाकोटी, दीपक धामी, आरती भट्टराई, डा. सुजन कडेरिया र प्रकाश पौडेल उमेरहद लागू भएमा दाबेदार बन्ने सम्भावित छन्।
अध्यक्ष पदका आकांक्षीहरूले सार्वजनिक शिक्षा सुधार, वैदेशिक पलायन रोक्न नीति निर्माण, र विद्यार्थी आन्दोलनलाई वर्गीय मुद्दामा फर्काउने प्रतिवद्धता व्यक्त गरेका छन्।
अहिलेसम्म उमेरहद लागू गर्ने वा नगर्ने विषयमा संगठन र पार्टी भित्र विवाद चलिरहेको छ। निर्णय केही दिनमै हुने अपेक्षा गरिएको छ।