काठमाडौं, वैशाख २४ । आज देशभर विभिन्न कार्यक्रम गरी १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन सुरु भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाइने गरिएको हो।
सरकारले वि.सं. २०७३ सालदेखि पत्रकारिता दिवसलाई राष्ट्रिय मान्यता दिँदै मनाउँदै आएको छ। यस वर्ष “विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार” भन्ने नाराका साथ कार्यक्रमहरू आयोजना हुने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा राष्ट्रपति निवास शीतल निवासमा विशेष कार्यक्रम हुँदैछ। सो अवसरमा पत्रकारितामा योगदान पुर्याउने दुई जना वरिष्ठ पत्रकारलाई सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, गोरखापत्र संस्थानले आफ्नो १२५औँ वर्ष प्रवेश र ६३औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्नेछ।
पत्रकारिता क्षेत्रको विकास, निष्पक्षता र जिम्मेवार पत्रकारिताका लागि प्रेरणा दिने उद्देश्यले यो दिवस मनाइने गरिएको छ।