आजदेखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक चार घण्टा बन्द

काठमाडौँ — त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। नागढुंगा–मुग्लिन सडक आयोजना कार्यालयका अनुसार, सडक विस्तार तथा सुधार कार्यका लागि आज वैशाख २३ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

सडक बन्द अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधनलाई नागढुंगा चेकपोष्टमा रोकिनेछ भने, नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई खत्रिपौवा पुलमा रोकिनेछ।

यद्यपि, एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन र अतिआवश्यक सेवाका गाडीहरू भने निर्वाध रूपमा सञ्चालन गरिनेछ।

वैकल्पिक रुटको व्यवस्था
सडक बन्द अवधिमा साना तथा मझौला सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गमा सीतापाइला–भिमढुंगा–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशुली–गल्छी सडक प्रयोग गर्न सकिनेछ।

सडक सुधार कार्यलाई समयमै सम्पन्न गर्न र यात्रु सुरक्षालाई ध्यान दिँदै सवारी चालक तथा यात्रुलाई निर्धारित समय र नियमको पालना गर्न आयोजना कार्यालयले अनुरोध गरेको छ।