धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा अवस्थित न्यू किवो बोर्डिङ स्कुलले अक्षय तृतीया पर्वको अवसरमा विद्यालय परिसरमा रचनात्मक कार्यक्रम गरी नेपाली संस्कृति र परम्पराको जगेर्ना गरेको छ।
बुधवार विद्यालयले प्रि-प्राइमरीदेखि कक्षा २ सम्मका सम्पूर्ण विद्यार्थीलाई सातु र खुदो खुवाउँदै पर्व विशेष कार्यक्रम सम्पन्न गरेको हो। अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार बालबालिकामा परम्परागत चाडपर्वबारे जानकारी दिन र उनीहरूमा संस्कार बसाल्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।
१६ टिम सहभागी हुने फुटबल प्रतियोगिता
यसै अवसरमा विद्यालयले भोलि बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूबीच जुनियर फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ। अतिरिक्त क्रियाकलाप संयोजक भट्टका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्।
चौतर्फी विकासमा विद्यालय अग्रसर
विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले समय-समयमा यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। सम्पूर्ण सञ्चालक समिति, शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले न्यू किवो बोर्डिङ स्कुल धादिङ जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको उहाँले बताउनुभयो।