धादिङ नेपाली समाज अमेरिकाको पहलमा कृष्ण ब. पाण्डेलाई रिचार्जेबल ह्वील चियर प्रदान

धादिङ । धादिङ नेपाली समाज अमेरिकाको समन्वयमा त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्ल्यानटारका कृष्ण बहादुर पाण्डेलाई रिचार्जेबल ह्वील चियर हस्तान्तरण गरिएको छ।

शारीरिक रूपमा अपांग कृष्ण बहादुरलाई सहज आवागमनका लागि १ लाख ४० हजार रुपैयाँ बराबरको आधुनिक रिचार्जेबल ह्वील चियर प्रदान गरिएको हो।

कार्यक्रम त्रिपुरासुन्दरी–१ का वडा अध्यक्ष भीम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिका अध्यक्ष राजु उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उक्त सहयोग धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टकबहादुर रुवालीको सक्रिय पहलमा सम्भव भएको हो। कार्यक्रममा भूमि आयोग धादिङका अध्यक्ष हरिप्रसाद पन्त, अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापा, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

रिचार्जेबल ह्वील चियर प्राप्त गरेपछि कृष्ण बहादुर पाण्डेले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, “समाजसेवा भन्नुको अर्थ दुःखमा परेकालाई साथ दिनु हो। म पनि भविष्यमा यस्तो समस्यामा परेकालाई सकेको सहयोग गर्नेछु।”

त्यसै अवसरमा भूमि आयोग अध्यक्ष पन्तले यस्तो सहयोगमा आफू पनि सहकार्य गर्न पाएकोमा धन्यवाद व्यक्त गरे।

गाउँपालिका अध्यक्ष राजु उप्रेतीले विदेशमा रहेका नेपालीहरूबाट शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गरे। उनले भने, “विदेशमै बसेर पनि आफ्ना भित्रिएकाहरूको दुःख सम्झेर सहयोग गर्नु निकै प्रेरणादायी छ। यस्ता सहयोगलाई संस्थागत रूपमा अझ अघि बढाउन तयार छु।”

यो सहयोग कार्यक्रमले देशभित्र र बाहिर रहेका नेपालीबीचको आत्मीय सम्बन्ध र सामाजिक जिम्मेवारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।