भूमिहीन र सुकुम्बासीलाई त्रिपुरासुन्दरीमा जग्गा वितरण प्रक्रिया सुरु हुने

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासी समुदायलाई जग्गा वितरण प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

मंगलबार भूमि समस्या समाधान आयोग धादिङ र गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको छलफलपछि यस्तो निर्णय गरिएको हो।

बैठकले वडा तहमा सहजीकरण समितिको बैठकमार्फत संकलित निवेदनहरूको परीक्षण गर्ने, आयोगको कार्यविधिअनुसार विवरण संशोधन गर्ने, र सात दिनभित्र कुनै उजुरी वा विरोधका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। साथै, गाउँपालिकामा भूमि सेवा केन्द्र गठन गर्ने पनि निर्णय गरिएको छ।

यस निर्णयसँगै त्रिपुरासुन्दरीका भूमिहीन र सुकुम्बासी समुदायलाई स्थायी बसोबासका लागि आशा जगाएको छ।