दिउँसै टर्च बालेर शिक्षकले गरे सरकारको विरोध

काठमाडौँ, चैत २६, २०८१ –
शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले अनौठो तरिकाले सरकारको विरोध जनाएका छन्। राजधानीको बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरूले दिउँसै मोबाइल टर्च र हेड ल्याम्प बालेर प्रदर्शन गरे।

शिक्षकहरूको यो सांकेतिक विरोधमा उनीहरूले नाराबाजीसमेत गरे। प्रदर्शन स्थलमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनका कारण बानेश्वर–बबरमहल सडक खण्डमा सवारी आवागमनसमेत प्रभावित भयो।

शिक्षकहरूले शिक्षा ऐन छिटो पारित गर्नुपर्ने, ऐन गुणस्तरीय र शिक्षक–विद्यार्थी मैत्री हुनुपर्ने माग गरेका छन्। आन्दोलनको नेतृत्व राष्ट्रिय शिक्षक महासंघले गर्दै आएको छ। उनीहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शनमा छन् भने चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरिएको छ।

यसअघि पनि शिक्षकहरूले कालो पट्टी बाँध्ने, सिट्ठी फुक्ने, मौन प्रदर्शन गर्ने, सडकमा सुत्ने जस्ता तरिकाबाट विरोध जनाएका थिए। यस पटक मोबाइलको टर्च बालेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिएको हो।

शिक्षकहरूको आन्दोलनका कारण एसईई उत्तरपुस्तिका परीक्षण ढिलो भई नतिजा प्रकाशन प्रभावित हुने चिन्ता समेत बढेको छ।