रवि लामिछाने भैरहवा कारागारमा, एक्लै कक्षमा राखिए

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीस्थित भैरहवा कारागारमा राखिएको छ। अदालतको आदेशपछि सोमबार उनलाई कारागार चलान गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि जिल्ला अदालतमा पेश गरियो। प्रक्रिया पूरा भएलगत्तै उनलाई कारागार पठाइएको हो।

कारागार प्रशासनका अनुसार लामिछानेको स्वास्थ्य परीक्षणपछि उनलाई ब्लक नम्बर ४ मा राखिएको छ, जहाँ हाल उनी एक्लै छन्। सो ब्लक अन्य कैदीबन्दीहरूबाट अलग रहेको बताइएको छ।

उनी बुटवलस्थित सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित ठगी र संगठित अपराध मुद्दामा अनुसन्धानको क्रममा थुनामा राखिएका हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरी शनिबार भैरहवा ल्याइएको थियो। दुई दिन प्रहरी हिरासतमा राखिएपछि सोमबार अदालतमा पेश गरियो।

भैरहवा सदरमुकामको सुरक्षालाई मध्यनजर गर्दै सो दिन विशेष सतर्कता अपनाइएको थियो। अदालत र कारागार वरपर सुरक्षा बल तैनाथ गरिएको थियो।