काठमाडौं – इस्लाम धर्मावलम्बीहरूले रमादान महिनाको समाप्तिसँगै इद उल फित्र पर्व आज उल्लासपूर्वक मनाइरहेका छन्। एक महिनासम्म कठोर उपवास (रोजा) पूरा गरेपछि आउने यो चाड इस्लाम धर्ममा विशेष महत्व राख्दछ।
मुस्लिम समुदायले आज बिहानै उठेर स्नान गरी सफा वस्त्र धारण गरेका छन्। मस्जिदहरूमा विशेष नमाज पाठ गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ। साथै, दीनदुःखी तथा गरिबहरूलाई दान दिने चलन रहेको हुँदा यस पर्वलाई ‘दान दिवस’को रूपमा समेत लिइन्छ।
इदका अवसरमा परिवार, आफन्त तथा साथीभाइबीच भेटघाट गरी परम्परागत परिकारहरू जस्तै सेवई, खजुर, मिष्ठान्न परिकारहरू खाइने गरिन्छ। साथै, बालबालिकालाई उपहारस्वरूप ‘ईदी’ दिने चलन छ।
नेपाल सरकारद्वारा आज सार्वजनिक बिदा दिइएको छ, जसले सम्पूर्ण मुस्लिम समुदायलाई यो विशेष दिन हर्षोल्लासका साथ मनाउन सहज बनाएको छ। देशभरका मस्जिद तथा मुस्लिम बस्तीहरूमा उल्लासमय वातावरण छाएको छ।
इद उल फित्रको अवसरमा नेपालका विभिन्न उच्च पदस्थ व्यक्तिहरू, धार्मिक गुरुहरू तथा सामाजिक संघसंस्थाहरूले शुभकामना व्यक्त गरेका छन्।