निर्वाचन समितिको खारेजीको माग गर्दै नीलकण्ठ क्याम्पसमा तालाबन्दी

धादिङ । स्ववियु निर्वाचन समिति खारेजीको माग गर्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले नीलकण्ठ बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख, व्यवस्थापन समिति अध्यक्ष, र निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै उनीहरूले निर्वाचन प्रक्रिया निष्पक्ष बनाउन समिति पुनर्गठन गर्नुपर्ने माग राखेका छन्।

यसअघि, नेविसंघको तालाबन्दीका कारण चैत ५ गते तोकिएको स्ववियु निर्वाचन हुन सकेको थिएन। साथै, निर्वाचन संयोजकले पदबाट राजीनामा दिएपछि निर्वाचन अन्योलमा परेको छ। अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेविसंघको आन्तरिक विवादका कारण निर्वाचन संयोजकलाई राजीनामा दिन बाध्य पारिएको आरोप लगाएका छन्।

तालाबन्दीका कारण क्याम्पसमा पठनपाठन प्रभावित हुने भएको छ भने विद्यार्थीहरू अन्योलमा परेका छन्।