धादिङमा वन डढेलोबाट दुई घर जलेर नष्ट

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिकामा लागेको डढेलोका कारण दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। गजुरी गाउँपालिका वडा नं. २ अन्तर्गत वित्लव सामुदायिक वनमा फैलिएको आगो बस्तीमा पसेपछि स्थानीय चनमती बिश्वकर्मा र खुमराज बिश्वकर्माको घर तथा गोठ जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार आगलागीका कारण तीनवटा बाख्रा समेत जलेर मरेका छन्। मानविय क्षति भने नभएको पुष्टि गरिएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा दिउँसो करिब चार बजे लागेको आगो साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो। आगलागीको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

स्थानिय बासिन्दाले वनमा लागेको आगोले बस्तीमा जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।