रुबीभ्याली गाउँपालिका द्वारा बँदेल पालन तालिम, इच्छुक कृषकले२० गते भित्र निवेदन दिनुपर्ने

धादिङ । स्थानीय कृषकलाई व्यावसायिक रूपमा बँदेल पालनतर्फ आकर्षित गर्न रुबी भ्याली गाउँपालिकाले विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले प्रत्येक वडाबाट ३/३ जना कृषक छनोट गरी व्यावसायिक बँदेल पालनसम्बन्धी तालिम प्रदान गर्नेछ।

गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार, यो कार्यक्रम दीर्घकालीन रूपमा स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धि अभिवृद्धि गर्ने रणनीतिक योजनाको एक हिस्सा हो। यस तालिमपछि कृषकहरूले कृषि फर्म दर्ता गरी व्यवसायिक रूपमा बँदेल पालन गर्दै “बँदेल जोन” को अवधारणा विकास गर्ने लक्ष्य राखिएको छ।

तालिमका लागि आवेदन खुला, चैत २० गतेभित्र निवेदन दिन आग्रह

गाउँपालिकाले इच्छुक कृषकहरूलाई सूचना प्रकाशन भएको ७ दिनभित्र, अर्थात् चैत २० गतेभित्र, निवेदन दिन आग्रह गरेको छ।

निवेदन दिने स्थान:
सम्बन्धित वडाका कार्यालयहरू

आवश्यक कागजातहरू
१. निवेदन
२. नागरिकताको प्रतिलिपि
३. वडाको सिफारिस पत्र

व्यवसायिक बँदेल पालनको सम्भावना
नेपाल सरकार द्वारा २०७६ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीमा संशोधन भएसँगै व्यावसायिक रूपमा वन्यजन्तु पालन तथा बिक्री वितरण गर्न कानुनी बाटो खुलेको छ। यही नीतिलाई आधार मान्दै, गाउँपालिकाले कृषकहरूलाई बँदेल पालनमार्फत आर्थिक उन्नति गर्न अवसर प्रदान गर्ने योजना बनाएको हो।

स्थानीय उत्पादन र रोजगारीको अवसर
गाउँपालिकाले यस कार्यक्रमलाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने प्रमुख अवसरका रूपमा लिएको छ। तालिम प्राप्त कृषकहरूले व्यावसायिक रूपमा बँदेल पालन गरेमा गाउँपालिकाले प्रोत्साहन र आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

(सम्पर्क: सम्बन्धित वडा कार्यालयहरू)