काठमाडौँमा समाजवादी मोर्चा र राजावादीको पृथक प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौँ, चैत १५ – चारदलीय समाजवादी मोर्चा र राजावादी समूहले आज (शुक्रबार) पृथक प्रदर्शन गरिरहेका छन्। सम्भावित मुठभेड रोक्न काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

राजावादी समूहले तीनकुनेमा र समाजवादी मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन्। दुवै पक्षबीच झडप हुन नदिन प्रहरीले सुरक्षात्मक उपायहरू अवलम्बन गरेको छ।

सुरक्षाका लागि अतिरिक्त प्रहरी परिचालन

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सरकारले अतिरिक्त ५,५०० प्रहरी परिचालन गरेको छ। नेपाल प्रहरीले ३,५०० जनशक्ति थपेको छ भने सशस्त्र प्रहरीले २,००० सुरक्षाकर्मी खटाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार दुबै समूहलाई छुट्टाछुट्टै रुट तोकिएको छ। समाजवादी मोर्चाको ¥याली काठमाडौँको रिङरोड भित्रबाट शुरू भई प्रदर्शनीमार्गतर्फ अघि बढेको छ भने राजावादीको ¥याली रिङरोड बाहिरबाट तीनकुने पुग्ने तय गरिएको छ।

कार्यक्रमस्थलसम्म प्रहरी एस्कोर्टिङ

प्रदर्शन स्थलसम्म कुनै अप्रिय घटना हुन नदिन प्रहरीका छुट्टाछुट्टै टोली प्रदर्शनकारीलाई एस्कोर्टिङ गरिरहेका छन्। प्रहरीका अनुसार समाजवादी मोर्चाको ¥याली सात स्थानबाट सुरु भएको छ भने राजावादी समूहको ¥याली भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट प्रारम्भ भएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सहमति भए तापनि अप्रिय गतिविधि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको छ।

किन भइरहेका छन् यी प्रदर्शनहरू?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट काठमाडौँ फर्किंदा भव्य स्वागत गरिएको विषयलाई लिएर समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गरिरहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रको रक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

उता, राजावादी समूहले नेपालमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने माग राख्दै तीनकुनेमा ¥याली गरिरहेको छ। यो समूह दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दैछ।

निषेधाज्ञा उल्लङ्घन गर्न नपाइने

प्रहरीका अनुसार प्रदर्शनका क्रममा लाठी, हतियार वा अवाञ्छित गतिविधि गर्न निषेध गरिएको छ। तोकिएका रुटहरू बाहिर गए प्रहरी आवश्यक कदम चाल्ने चेतावनी दिइएको छ।

हालसम्म कुनै अप्रिय घटना भएको छैन, तर सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेको छ। दुवै समूहको ¥याली दिउँसो १ बजेसम्म सकिने अनुमान गरिएको छ।