नेपाल आँखा उपचारका लागि अन्तर्राष्ट्रिय गन्तव्य बन्दै:भारत, बंगलादेश, भुटान बाट बिरामी आउदै

काठमाडौं । नेपालमा मात्रै होइन, भारत, बंगलादेश, भुटानलगायत छिमेकी देशका नागरिक पनि आँखाको उपचारका लागि नेपाल आउने गरेका छन्। सुलभ शुल्क, उन्नत प्रविधि र अनुभवी चिकित्सकहरूको सहज उपलब्धताका कारण नेपाल आँखा उपचारका लागि प्रमुख गन्तव्य बन्दै गएको हो।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ वटा आँखा अस्पताल र २२४ आँखा उपचार केन्द्रहरूमा वार्षिक रूपमा हजारौं विदेशी बिरामीहरू उपचार गराउन आउँछन्। संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार, सन् २०२४ मा मात्रै ९ लाख ७ हजार ७१ जना विदेशी नागरिकले आँखाको परीक्षण गराएका थिए भने १ लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको थियो।

नेपालमा आँखाको उपचारका लागि अत्याधुनिक प्रविधिहरूको प्रयोग हुँदै आएको छ। संघको सञ्जालमार्फत कुल ३२ लाख ६८ हजार ३४ बिरामीको आँखाको परीक्षण गरिएकामा २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

नेत्रज्योति संघले विभिन्न अन्तर्राष्ट्रिय संस्था, सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा निःशुल्क उपचार कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। संघका अनुसार, सन् २०२४ मा मात्रै ३४ हजार ४२५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

नेपालका अस्पतालहरूमा दक्ष चिकित्सकहरूसँगै अन्तर्राष्ट्रियस्तरका उपकरण तथा सेवा भएकाले नेपाल आँखा उपचारका लागि उपयुक्त गन्तव्य बन्दै गएको विज्ञहरू बताउँछन्।