वसन्त ऋतुको हिमाल आरोहण सुरु, ५८ आरोहीले अनुमति लिए

नेपालमा वसन्त ऋतुको हिमाल आरोहणको मौसम सुरु भएसँगै आरोहीहरूले अनुमति लिन थालेका छन्।

पर्यटन विभागका अनुसार हालसम्म विभिन्न आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी ५८ जनाले हिमाल आरोहण अनुमति पाएका छन्। यी आरोहीहरू अन्नपूर्ण-१ लगायतका हिमाल चढ्ने तयारीमा छन्।

सगरमाथा आरोहणको चहलपहल बढ्दै गएसँगै आरोहण व्यवस्थापनमा संलग्न कम्पनीहरू आधार शिविरमा आवश्यक तयारी गरिरहेका छन्। स्नो होराइजन, पायोनियर, सेभेन समिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सपिडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङ जस्ता कम्पनीहरूले शिविर व्यवस्थापनका काम गरिरहेका छन्।

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न ‘आइसफल डाक्टर’ खटाइसकिएको छ भने चुचुरोसम्म डोरी टाँग्ने जिम्मा अनुभवी शेर्पा टोलीलाई दिइएको छ।

वसन्त ऋतु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ, जसका कारण हरेक वर्ष विदेशी तथा स्वदेशी आरोहीहरू नेपालका हिमालहरू चढ्न आउने गर्छन्।