औरही गाउँपालिकाका अध्यक्ष जातीय विभेदको आरोपमा पक्राउ

काठमाडौ । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव जातीय विभेदको आरोपमा पक्राउ परेका छन्। महायज्ञ आयोजनाको क्रममा दलित परिवारको घर भत्काएको घटनामा संलग्न भएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यका अनुसार यादवलाई शुक्रबार साँझ पक्राउ गरिएको हो। घटनाको अनुसन्धान जारी रहेको र पीडितबाट जाहेरी आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

के हो घटना?

सिरहाको औरही–५ निवासी दीपक मलिक (डोम) को घर गत फागुन १० गते महायज्ञ आयोजनाको नाममा बलपूर्वक भत्काइएको थियो। गाउँपालिकाको जेसीबी प्रयोग गरी अध्यक्ष यादव आफैं उपस्थित भई घर भत्काइएको थियो। स्थानीयका अनुसार, भत्काइएपछि उक्त घरको जमिनमाथिको माटोसमेत हटाइएको थियो, जसले जातीय विभेदको गम्भीर संकेत गरेको बताइएको छ।

विरोध र सरकारी हस्तक्षेप

यो घटनापछि स्थानीयस्तरदेखि राष्ट्रियस्तरमा विरोध सुरु भएको छ। राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोग ले घटनाको अनुगमन गरिरहेका छन्। गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालय तानेको छ।

सांसदहरूले प्रतिनिधि सभामा घटनाबारे छानबिन समिति गठन गर्न माग गरेका छन्। विपक्षी दलहरूले घटनालाई गम्भीर रूपमा लिँदै सरकारलाई तत्काल कदम चाल्न चेतावनी दिएका छन्।

गाउँपालिका अध्यक्ष यादवको पृष्ठभूमि

शिवजी यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट विजयी भएका थिए। हाल उनीमाथि जातीय विभेदको गम्भीर आरोप लागेपछि पार्टीले समेत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही हुनुपर्ने माग व्यापक रूपमा उठिरहेको छ।