सिङ्ल्हामा बैशाख २७ देखि २९ गतेसम्म धार्मिक मेला आयोजना हुने

धादिङ । उत्तरी धादिङको खनियाबास र रुबी भ्याली गाउँपालिकाको संगमस्थल सिङ्ल्हामा धार्मिक मेला आयोजना गरिने भएको छ। सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङको संयोजनमा बैशाख २७ देखि २९ गतेसम्म मेला सञ्चालन हुनेछ।

मेलामा धार्मिक कार्यक्रम, स्थानीय झाँकी नृत्य, लामा नृत्य, राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा सिङ्ला सम्बन्धी वक्तृत्वकला र बहस प्रतियोगिता हुने जनाइएको छ।

सिङ्ल्हाको धार्मिक र पर्यटकीय महत्व

बोन्पो तथा लामा समुदायले हरेक वर्ष भदौ पूर्णिमाका दिन सिङ्ल्हामा पूजा गर्दै आएका छन्। यो स्थानलाई शक्ति अर्जन र नयाँ चेलालाई दीक्षा प्रदान गर्ने स्थलका रूपमा लिने गरिन्छ।

यहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक र मनास्लु हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानलाई ‘नेपालको स्वीजरल्याण्ड’ भन्ने गरिन्छ।

धार्मिक आस्थाका हिसाबले बौद्ध धर्मगुरु पद्मसंभवले वास गरेको मानिने यो ठाउँलाई शक्तिपीठका रूपमा मान्यता दिइएको छ। दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ।

सिङ्ल्हा पदयात्राका लागि उपयुक्त गन्तव्य हो। यहाँ हिउँमा स्केटिङ, लालिगुराँसको विभिन्न प्रजाति अवलोकन, पिकनिक तथा सम्मेलन आयोजना गर्न सकिन्छ।

सिङ्ल्हा पुग्ने मार्ग

सिङ्ल्हा पुग्न काठमाडौंबाट गल्छी, त्रिशूली, देवीघाट, बट्टार, सोलेबजार, सातदोबाटो, किस्पाङ, काहुले, भाल्चे हुँदै गोङ्गासम्म सवारीसाधन प्रयोग गर्न सकिन्छ। सातदोबाटोसम्म पक्की सडक र त्यसपछि कच्ची सडक रहेको छ।

गोङ्गाबाट करिब साढे तीन घण्टाको पैदल यात्रापछि रुपचेत पुग्न सकिन्छ। त्यहाँबाट डेढ घण्टाको उकालो यात्रा गरेपछि सिङ्ल्हा माने पुग्न सकिन्छ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्व बोकेको सिङ्ल्हामा आयोजना हुने यो मेला आन्तरिक तथा बाह्य पर्यटकका लागि विशेष आकर्षण बन्ने अनुमान गरिएको छ।