गोरखा । धार्चे गाउँपालिका-२ केरौजामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७७४ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
मुटु फाउन्डेसनको आयोजना तथा काठमाडौंस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा स्त्री तथा प्रसूति सेवा, नाक-कान-घाँटी परीक्षण, युएसजी, इसिजी लगायतका सुविधा प्रदान गरिएको थियो।
शिविरमा १७७ जनाले स्त्री तथा प्रसूति सेवा, ३३४ जनाले नाक-कान-घाँटी परीक्षण, १५६ जनाले युएसजी, ७२ जनाले इसिजी सेवा लिएका थिए। यस्तै, ११७ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (VIA टेस्ट) गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा पाठेघर खस्ने समस्या देखिएका १० जना महिलाको ‘रिङ प्रेसरी’ विधिबाट उपचार गरिएको आयोजक संस्थाले जनाएको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यो शिविरले धेरै स्थानीयवासीलाई लाभ पुगेको छ। आयोजकका अनुसार कतिपय बिरामीले एकभन्दा बढी सेवा लिएको हुँदा सेवाग्राहीको कुल सङ्ख्या ७७४ भए पनि सेवा प्रदान गर्ने कुल सङ्ख्या भने ८६६ पुगेको थियो।