काठमाडौ । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक काम प्रभावित भएको छ। संघीय सरकार र महानगरबीच सहमति नजुट्दा ५५ दिनदेखि प्रशासकीय अधिकृतको पद रिक्त छ।
संघीय सरकारले महानगरलाई छानबिन प्रतिवेदन बुझाउन भनेको छ भने महानगरले नयाँ प्रशासकीय अधिकृत नपठाइएकामा असन्तुष्टि जनाएको छ। यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन प्रक्रियाको प्रतिवेदन प्राप्त भएपछि मात्रै निर्णय हुने जनाएको छ।
महानगरले यसअघि सरोज गुरागाईंमाथि छानबिन गर्दै कारबाहीको सिफारिस गरेको थियो। सोही कारण नयाँ प्रशासकीय अधिकृत पठाउने प्रक्रियामा ढिलाइ भएको संघीय सरकारको भनाइ छ।
यस विवादका कारण महानगरका कर्मचारीहरूको तलब रोकिएको, नियमित प्रशासनिक कार्य प्रभावित भएको र आर्थिक निर्णयहरू अघि बढ्न नसकेको बताइएको छ।