लेवनानमा शान्ति सेनामाथि आक्रमण, नेपाली उपरथी घाइते

काठमाडौँ – लेवनानमा तैनाथ संयुक्त राष्ट्र संघीय शान्ति मिसन (युनिफिल) का शान्ति सैनिकमाथि आक्रमण भएको छ।

राजधानी बेरुतमा नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार सवारी साधनमाथि भीडले आक्रमण गरेको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था जोखिममुक्त छ।

उपरथी ढकाल कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेको बताइएको छ।

युनिफिल मिसनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सैनिकहरूमाथि आक्रमण अस्वीकार्य भएको जनाएको छ। संयुक्त राष्ट्र संघले लेवनान सरकारसँग छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ।

लेवनान सरकार र सुरक्षाकर्मीले घटनाको छानबिन भइरहेको जनाएका छन्। संलग्न व्यक्तिहरूमाथि कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।