धादिङ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “अपाङ्गताको पहिचान, संरक्षण र पुनःस्थापनामा हाम्रो अभियान” नाराका साथ फागुन १ गते सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाको आयोजना तथा अपाङ्गता समन्वय समितिको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, सरकारी नीति तथा कार्यक्रम, सेवा-सुविधा र कानूनी व्यवस्था बारे जानकारी प्रदान गरिएको थियो।
स्थानीय तहको भूमिका महत्वपूर्ण
अभिमुखीकरणका वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समान अवसर उपलब्ध गराउने, उनीहरूको पुनःस्थापना तथा आर्थिक सशक्तिकरणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको औंल्याए। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नीतिगत पहल लिने प्रतिबद्धता जनाएका थिए।
गाउँपालिका अध्यक्षले अपाङ्गता भएका व्यक्तिहरूका लागि पूर्वाधार निर्माण, रोजगारीको अवसर तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरे।






