बेनीघाट रोराङको भागवत सप्ताहबाट ५ करोड ८५ लाख संकलन

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख ७ हजार ५०८ रुपैयाँ संकलन भएको छ। “शिक्षाको लागि भिक्षा” अभियान अन्तर्गत माघ १७ देखि २३ गतेसम्म सम्पन्न महायज्ञमा स्थानीय बासिन्दा तथा भक्तजनहरूको उल्लेखनीय सहयोग प्राप्त भएको हो।

आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै ८१ लाख ५९ हजार ६९५ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।

महायज्ञमा कथावाचन मञ्जरी राधिका दासी ले गरेकी थिइन्। संकलित रकम बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक सुधार तथा समतामूलक शिक्षामा लगानी गरिने बताइएको छ।

यस्ता धार्मिक तथा सामाजिक अभियानहरूले स्थानीय स्तरमा शिक्षा, सामाजिक एकता र धार्मिक चेतनाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।