अण्डाको समर्थन मूल्य तोकियो, प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य बिहीबारदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको उनले बताए । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।

सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको सङ्घले जनाएको छ । 

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको सङ्घले जनाएको छ । ३० हजारभन्दा माथि अण्डा उत्पादक छन् ।