ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: क्षतिको विवरण आउन बाँकी

अन्तरास्ट्रिय खबर । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको सो भूकम्पको ७.४ म्याग्निच्युड मापन गरिएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ। 

ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठूलो भूस्खलन भएको देखाएको छ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ। यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ। सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ। 

ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो। चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, जापानमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी दिइएको बीबीसीले जनाएको छ।