नयाँ गठबन्धनप्रति एकीकृत समाजवादी ‘पर्ख र हेर’ मा

काठमाडौ । नयाँ गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) पर्ख र हेरको अवस्थामा पुगेको छ।

सोमबार बसेको सचिवालय बैठकले नयाँ गठबन्धनबारे कुनै निर्णय लिन सकेन।

‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन। तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ,’ पार्टी महासचिव घनश्याम भूसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले एकीकृत समाजवादीलाई गठबन्धन बाहिर राख्न नहुने निचोड निकालेको थियो।

तर समाजवादीले गठबन्धनले आधार स्पष्ट नपारिसकेकाले त्यसबारे निर्णय गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको हो। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।