गजुरीमा प्रशासनका कर्मचारीलाई शिक्षकमा सरुवा ,प्रविधिकलाई प्रशासनमा बढुवा ’

धादिङ । गजुरी गा.पा ले निकै लामो समयदेखि पालिकामा कार्यरत प्रशासन सेवा तर्फका कर्मचारीलाई प्रतिशोधका आधारमा पद घटुवा गरि जर्वरजस्ती सरुवा गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको हस्ताक्षरमा २०८० साउन ३० गते प्रकाशित भएको पत्रमा कर्मचारीहरुलाई घटुवा गरी सरुवा थमाइएको हो ।

गजुरी गाउँपालिका वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र पूर्व मुख्य मन्त्री एवम प्रतिनिधि सभा सदस्य नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेको गाउँ समेत हो । गजुरीमा सत्ता गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गणेश लाल श्रेष्ठ अध्यक्ष र नेपाली काँग्रेसका शर्मिला विसुराल उपाध्यक्षमा विजयी भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, शिक्षा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले हचुवाको भरमा राजनैतिक प्रतिशोध राखेर लामो समयदेखि प्रशासन सेवामा काम गरिरहेका कर्मचारीलाई जर्वजस्ती पद घटुवा तथा अनुभव नै नभएको क्षेत्रमा सरुवा गरेर निर्लज्जता देखाएको स्थानीयवासी सुधिर खरेलले बताए ।
धादिङका साविकको किराञ्चोक, पिडा र गजुरी गाविस समेटेर गजुरी गाउँपालिका बनेको हो । गाउँपालिका स्थापना हुनुअघि तत्कालिन गाविस कार्यालयले नियुक्ति दिएका कर्मचारीलाई अहिलेको नेत्तृत्वले राजनीतिक पूर्वाग्रह राखेर पद घटुवा तथा अपायक सरुवा गरेर दुःख दिएको नेकपा एमाले गजुरीका अध्यक्ष माधव भण्डारी बताउँछन ।
साविकको गाविस हुंदै हाल वडा नम्बर ७ मा कार्यरत महेश न्यौपानेलाई पालिकाले थुम्किडाँडा माविमा सहयोगी शिक्षकको रुपमा सरुवा गरेको छ । न्यौपाने तत्कालीन किराञ्चोक गाविस कार्यालयबाट नियुक्ति लिएर हाल वडा नम्बर ७ मा कार्यरत छन् ।
त्यसै गरी गजुरी गाविसबाट नियुक्ति पाएर हाल वडा नम्बर १ मा कार्यरत अप्सरा बर्तौलालाई पातालिनि आविमा, गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर सुस्मिता अधिकारीलाई आदर्श मावि गजुरीको सहयोगी शिक्षकमा सरुवा गरिएको छ ।
शिक्षकका रुपमा काम गर्ने कुनै अनुभव नभएका, शिक्षण अनुमति पत्र समेत नलिएका व्यक्तिलाई जर्बरजस्ती शिक्षकका रुपमा सरुवा गरेर पालिकाले कर्मचारीलाई दुःख दिनुका साथै वालवालिकाको भविष्य माथिनै खेलवाड गरेको भण्डारीको बुझाई छ ।
सरुवा गर्दा कृषि तथा पशु सेवाप्राविधिकलाई प्रशासनतर्फ,प्रशासनमा कार्यरत कर्मचारीलाई विद्यालयमा सहायक शिक्षकका रुपमा पठाएर गाउँपालिकाले राजनैतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा गलत अभ्यासको सुरुवात गरेको स्थानीय सुधिर खरेलले बताए ।
गाउँपालिकाले कृषि प्राविधिक एकिन्द्र चेपाङलाई अहिलेको नेत्तृत्व आएदेखि पालिकाको जिन्सी शाखाको जिम्मेवारी दिएको छ भने न्यायिक सहजकर्ताका रुपमा कार्यरत बिष्णुमाया चेपाङलाई सोधपुछ कक्षमा सरुवा गरेको छ ।
केही महिनाअघि शिक्षक छनौट गर्न लिएको परीक्षामा आफ्नो मान्छे पास नभएपछि शिक्षक छनौटका लागि लिइएको दोश्रो पत्रको परीक्षाफल स्थगित गरेर निर्णय सच्याउन नमान्ने शिक्षा अधिकृतको सरुवा गराएको थियो गजुरी गाउँपालिकाले ।
के भन्छन् गाउँपालिका अध्यक्ष ?
यस विषयमा नेपाल प्रेससँग कुरा गर्दै गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले हाल समायोजन भएका कर्मचारीले आजीवन करारमा जागिर खान पाउनुपर्छ भन्ने अनौठो माग राखेको बताए ।

करारका केही कर्मचारीलाई आवश्यकताको आधारमा विभिन्न विद्यालयमा समायोजन गराएको बताउँदै उनले एकै ठाउँमा बसेर १९ वर्ष जागिर खानु बैज्ञानिक नभएको तर्क गरे ।
सरुवा गर्दा कुनै पद घटुवा नगरेको भन्दै अध्यक्ष श्रेष्ठले केहि ब्यक्तिले राजनीतिक विषय बनाएको आरोप लगाए । प्राविधिक जनशक्तिलाई केही समयको लागि मात्र जिन्सी शाखामा लगिएको भन्दै उनले केही दिनभित्रै ती कर्मचारीलाई प्राविधिक शाखामा नै लग्ने उनको भनाई रहेको छ ।
कर्मचारीलाई पढाउनको लागि विद्यालय नपठाएको बताए । विद्यालयहरुले केही कर्मचारी आवश्यक रहेको जनाएपछि आफूहरुले ती विद्यालयमा सहयोग होस भन्ने उदेश्यले कर्मचारी पठाएको उनको भनाई छ ।
के भन्छन् प्रशासकीय अधिकृत ?

कर्मचारी सरुवाको विषयमा प्रतिक्रिया दिँदै गाउँपालिकाका प्रमुखप्र शासकिय अधिकृत अधिकारीले आफुहरुले विषय शिक्षकको रुपमा ती कर्मचारीलाई समायोजन नगरेको बताए । विद्यालयमा अनुदान पठाउनु भन्दा जनशक्ति पठाउँदा राम्रो हुन्छ भन्ने उदेश्यले पठाइएको भन्दै उनले प्रशासकीय पाटोमात्र उनीहरुले हेर्ने दावी गरे ।
 
उनले भने– गाउँ कार्यपालिकामा करारको कर्मचारीलाई हटाउनेसम्मको कुरा भएको तर उहाँहरुको रोजीरोटीको बाटो बन्द नगर्न गाउँपालिकाले करारका कर्मचारीहरुलाई उहाँहरुको साविकको ठेगानाको पायक पर्ने स्थानमा सरुवा गरिएको हो ।
साभार-नेपाल प्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here