भूकम्पले बाजुराको ४२ परिवार विस्थापित: ४०० घरमा क्षति

काठमाडौ । बाजुरामा गत हप्ता भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।  
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बडीमालिकाका १२, हिमालीका ४ र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले ५ परिवार त्रिपालको सहारमा छन् ।  
बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए ।
भूकम्पका कारण झण्डै ४०० घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।  
भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा ३ र बुढीगङ्गामा १ घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा ४, स्वामीकार्तिक खापर गाउँपालिकामा १ गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदहमा ५ र गौमुलमा ५ घरमा आंशिकरूपमा क्षति पुगेको छ ।  
यसैगरी भूकम्पले बडीमालिकामा १८७, बूढीनन्दा नगरपालिकामा १, हिमालीमा ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा १ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ ।  
भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । भूकम्पका कारण गौमुल–१ अम्लिसमा ३५ भेंडा पनि मरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here