राष्ट्रिय स्वतन्त्र पार्टीले कहाँ कहाँ जित्यो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो।
काठमाडौं-२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन्। उनले एमालेका मणिराम फुयाललाई हराइन्। फुयालले ११ हजार ५५५ मत पाए। राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन्।
काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ। पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए। माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन्।
काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए। सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए।
पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो। सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवि लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन्।
७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here