ह्वाट्सएप जस्तै देखिने नक्कली एप फैलिँदै, सावधानी अपनाउन कम्पनीको आग्रह

काठमाडौं । बजारमा नक्कली मेसेजिङ एप फैलिएको भन्दै ह्वाट्सएपले सावधानी अपनाउन आग्रह गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विल क्याथकार्टले ट्वीट गर्दै ह्वाट्सएपका नक्कली वा मोडिफाइड भर्सन प्रयोग गर्ने प्रयोगकर्ता ठूलो समस्यामा पर्नेसक्ने चेतावनी दिएका छन् ।

ह्वाट्सएपका दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता छन् । प्रयोगकर्ता धेरै हुनुले स्क्यामरका नजरमा यो एप परिरहेकाे छ । यस्ता स्क्यामरहरू विभिन्न तरिका अपनाएर सक्रिय भइरहेका हुन्छन् ।
कम्पनीको सुरक्षा अनुसन्धान समूहले ह्वाट्सएपजस्तै सेवा दिने नक्कली एपबारे खुलासा गरेकाे हाे ।

सीईओ विल क्याथकार्टका अनुसार यस्ता एपमार्फत प्रयाेगकर्ताकाे माेबाइलमा मालवेयर फैलिरहेकाे छ, जसमा ‘हे ह्वाट्सएप’ (Hey WhatsApp) सहित गुगल प्ले स्टोरभन्दा बाहिर उपलब्ध हुने एपहरू छन् ।

‘यी एपले नयाँ फिचरहरू उपलब्ध गराउने भनेपनि ती सबै स्क्याम मात्र हुन् । उनीहरूले प्रयोगकर्ताको फोनमा रहेको डेटा र अन्य व्यक्तिगत विवरण चोर्नका लागि त्यसो गरेका हुन्,’ उनले लेखका छन्, ‘हामीले यस्ता हानिकारक एप पत्ता लगाएको कुरा गुगलमाझ पनि राखेका छौं । र, हामी त्यस्ता एप हटाउन गुगलसँग सहकार्य गरेर काम गरिरहेका छौं ।’

गुगल प्ले स्टोरमा भने ह्वाट्सएपका नक्कली भर्सनका एप उपलब्ध छैनन् । प्रयोगकर्ताले विभिन्न अनाधिकारिक स्राेतबाट त्यस्ता एप डाउनलोड गर्ने गरेको पाइएको छ ।
‘एन्ड्रोइडमा गुगलको प्ले प्रोटेक्टले पहिले नै डाउनलोड भएका ह्वाट्एसपका नक्कली भर्सनका एप हटाउने गरेको छ । गुगलको सहयोगलाई हामी कदर गर्छौं । र, एन्ड्रोइड डिभाइसमा फैलिने हानिकारक एप नियन्त्रणका लागि हामी निरन्तर काम गरिरहेका छौं,’ क्याथकार्टले ट्वीटमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here