प्रधानसेनापति शर्मा अमेरिका सहित ३ देशको भ्रमणमा जाने

काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्मा तीन देशको भ्रमणमा जाने भएका छन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति शर्मा आगामी असार ४ गते लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा निस्कने जानकारी दिएको हो ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गर्न लागेका हुन् ।

लेबनान र सिरियामा राष्ट्रसंघको शान्ति मिसनमा ठूलो संख्यामा नेपाली शान्ति सैनिक खटिएका छन् । प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् ।
भ्रमणको दौरान, प्रधानसेनापति महारथी शर्मा लगायतका भ्रमण टोलीले उक्त मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।
लेबनान र सिरियाको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति शर्मा अमेरिका जाने कार्यक्रम रहेको छ । असार १३ देखि १७ गतेसम्म उनले अमेरिकाको भ्रमण गर्नेछन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here