लामो समय पछि नेपथ्यको पुनरोदय

काठमाडौ । लामो समय पछि नयाँ वर्षका दिन नेपथ्यको पुनरोदय पूर्वको शहर दमकबाट भएको छ। बिहीबार साँझ पर्दै गएपछि सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदान पूर्वाञ्चलभरिबाट भेला भएका युवा युवतीले भरिएको थियो। मञ्चबाट छरिएको उज्यालोका आभाले भुइँदेखि लिएर आकाशसम्मलाई चम्किलो बनाएको थियो।

यही माहोलकाबीच उपस्थित भए, नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ। उनले कन्सर्टको प्रारम्भमै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी…’ बाट सुरु गरेका थिए। उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाइबाट संकलन गरेका थिए।
त्यसपछि लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी म¥यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा तन्नेरीहरू नाच्नमा व्यस्त थिए। मुलुकका फरक फरक भेगको प्रतिनिधित्व गर्ने यी गीतहरू प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोतादर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए । चुनावको माहोलमा डुब्दै गरेको दमकमा उपस्थित दर्शकलाई उनले मतदानका निम्ति प्रोत्साहित गर्दै भविष्यका प्रति आशावादी हुन पनि हौस्याएका थिए। 
दुई शसकअघि ‘शान्तिका लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटल समेत नपाइएको यो शहरको हेर्दाहेर्दै कायाकल्प भएकामा उनले खुसी व्यक्त गरे । त्यतिबेला कन्सर्टबाट उठेको रकमले शहरकै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरिएको थियो ।
‘मै मरि जाउँला’, ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘आँगनै भरि’ देखि ‘यो जिन्दगानी’ सम्म एकपछि अर्को सर्वकालिक हिट गीत सुनाएको थियो। 

‘लेकैको लालीगुराँस, काली काली केशलाई साइँली मोरीलाई पाखैको चिसो बतास, डाली डाली फूललाई साइँली मोरीलाई’

गीतकार मन्जुलले १९ वर्षकै उमेरमा रचना गरेको यो गीति कवितापछि पुस्तकका रुपमा पनि प्रकाशित भयो। ‘पुस्तक पढ्दै गर्दा यो कविताले मलाई मोहित पारेको थियो,’ अमृत भन्छन्, ‘बारम्बार पढेकाले कविता कण्ठस्थै थियो।’ उक्त कवितालाई गीतमा ढाल्ने काम भने अमृतले नै गरेका हुन्।
‘झन्डै एक दसकअघि म पैदल यात्रा गर्दै पूर्वतर्फ लाग्दा एउटा दृश्यले मलाई भित्रैदेखि रोमाञ्चित बनाएको थियो’, उनी भन्छन्, ‘ओखलढुंगाको कोष भञ्ज्याङमा हिँड्दा हिँड्दै उत्पन्न त्यो रोमाञ्चकताले नै मलाई त्यस पुरानो कविताको सम्झना गराइदियो।’

जति रात पर्दै गयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘गाउँ गाउँबाट उठ’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि बिदा लिएको थियो।
पाँच हजार दर्शकले भरिएको भीडमै कन्सर्ट हेर्नकै निम्ति सिक्किमको सोरेङबाट आएका नवीन र विश्वास लिम्बू अनि सिक्किमकै गेजिङबाट आएका मन्दीप सुब्बा पनि देखिन्थे। आफूहरूले सिक्किमको 
जुनसुकै भेगमा आयोजना हुने नेपथ्यको कन्सर्टमा सदैव उपस्थिति जनाउँदै आएकोमा यसपाली लामो समयको न्यास्रो मेट्न नेपालको यात्रा गरेको जानकारी उनीहरूले दिए।
स्थानीय ‘नेपाली टच’ र ध्रुवतारा स्पोर्टिङ क्लब’ को अगुवाइमा आयोजना गरिएको कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here