३ स्थानीय तहमा अझै पुग्न सकेन बैंक; धादिङको रुबिभ्याली जाजरकोटको जुनीचाँदे र बझाङको साईपाल गाउँपालिका

काठमाडौ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैनन्।

रुविभ्यालीमा बैंक अफ काठमाडौं, जुनीचाँदेमा कृषि विकास बैंक र साईपालमा एभरेस्ट बैंकले शाखा खोल्ने जिम्मा पाएका थिए। यी बैंकले सडक, विद्युत्, इन्टरनेट टेलिफोनजस्ता सञ्चार साधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न नसकेको जवाफ राष्ट्र बैंकलाई दिएका छन्।

बैंकहरूले दुर्गममा शाखा खोल्न अग्रसरता नदेखाएपछि  सबै गोलाप्रथा गरिएको थियो। भाग लागेका अरू पालिकामा शाखा खोले पनि गणेश हिमालको काँखैमा परेको रुविभ्यालीमा नसकेको बैंक अफ काठमाडौंले जनाएको छ। ‘सो स्थानमा ६ महिना हिउँ पर्ने र ६ महिनाका लागि मात्रै घर भाडामा लिनुपर्ने देखियो। यसैले सो गाउँपालिकामा शाखा खोल्न सक्दैनौ,’ बैंक स्रोतले भनेको छ। बैंक अफ काठमाडौंले रुविभ्यालीमा शाखा खोल्न नसकेको बारे राष्ट्र बैंकमा पत्र आएको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।

दुर्गम स्थानीय तहमा बैंकलाई आवश्यक पर्ने स्रोतसाधनको अभावले शाखा विस्तार गर्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन्। जनप्रतिनिधि तथा सर्वसाधारणबीच विवाद कायमै रहेकाले जुनीचाँदेमा शाखा खोल्न नसकेको उनले बताए। 
बैंकले कर्मचारी खटाई सदरमुकामबाट सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।  दुर्गममा बैंक नपुग्दा वृद्ध भत्ता बुझ्नदेखि सम्पूर्ण कामका लागि सदरमुकाम नै धाउनुपर्ने अवस्था छ। थोरै जनसंख्या भएकाले पनि बैंक जान नमानेको हुन सक्ने सुदूरपश्चिम गाउँपालिका महासंघ प्रदेश समन्वय अधिकृत नवराज उपाध्यायको बुझाइ छ। उनले भने, ‘सुदूरपश्चिमको सबैभन्दा विकट साईपाल गाउँपालिका हो। अरू पालिकामा सडकले छोएको छ। तर यहाँ एक गाउँबाट अर्को गाउँ जान एक दिन लाग्ने डाँडा छन्।’

source:annapurnapost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here