निर्वाचनबारे छलफल गर्न, सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौ । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ। निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको हो। 
शु्क्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटपछि थप छलफल गर्न बैठक राखिएको हो।
स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ। 
प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन्। देउवाले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए। सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्।
गठबन्धन बैठकमा चुनावको विषय नै प्रमुख एजेन्डा बन्ने भएको छ। प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरण केसीले नेताबीच चुनावकै विषयमा चर्चा भएको बताए। उनले भने, ‘शनिबार बस्ने गठबन्धनको बैठकले चुनावका विषयमा एउटा धारणा बाहिर ल्याउँछ।’ 
निर्वाचन आयोग, पालिका संघ, महासंघ, एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज बलियो छ। प्रधानमन्त्री देउवालाई निर्वाचनका विषयमा चौतर्फी दबाब सिर्जना भएपनि अहिलेसम्म निर्वाचनका विषयमा कुनै पनि धारणा बाहिर ल्याएका छैनन्।
ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here