महामारीको बेला दैनिकजसो एउटा नयाँ अर्बपति थपिए,महामारीमा दोब्बर सम्पत्ति बनाउने १० धनीहरु

एजेन्सी । कोभिड महामारीका कारण विश्वका हजारौं मानिस गरिबीमा परेका छन् । लकाडाउनका कारण मानिसहरु आफ्नो पेशा व्यवसायलाई अगाडि बढाउन नसक्दा मानिसहरु गरिबीमा परेका हुन् ।
तर केही मानिस भने यस्तो महामारीको बेला झन् धनी भएका छन् । विश्वका सर्वाधिक धनी मानिस महामारीका बेला अझ धनी भएका हुन् ।
अक्सफाम नामक परोपकारी संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भएको छ ।
तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुनाभन्दा बढी भएको उसले जनाएको छ । डाभोसमा वर्ल्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्सफामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
यस साताको लागि तय गरिएको उक्त बैठक यस वर्ष पनि ओमिक्रोन भेरियन्ट देखापरेसँगै लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुँदैछ । यस साताका छलफलमा महामारीपछिको सम्भावित भावी बाटो, खोप असमानता र ऊर्जा सङ्क्रमणको विषय समेटिने जनाइएको छ ।
अक्सफाम जीबी (ग्रेट ब्रिटेन) का प्रमुख कार्यकारी धनञ्जयन श्रीस्कन्दराजाले अक्सफामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकृष्ट गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताएका छन् ।

अक्सफामका अनुसार महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसङ्ख्या लकडाउनका कारण सकसमा छ । त्यस्तै थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन् ।
अक्सफामले उदृत गरेको फोर्ब्सको तथ्याङ्कअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन् ।
समग्रमा उनीहरूको सम्पत्ति ७०० अर्ब अमेरिकी डलरबाट १५ खर्ब डलर पुगेको छ । धेरै बालिकाहरू महामारीपछि विद्यालय फर्कन नसक्ने अक्सफामले जनाएको छ ।
मस्कको सम्पत्ति एक हजार प्रतिशतभन्दा धेरैले बढेको छ भने गेट्सको हकमा ३० प्रतिशतको मात्र वृद्धि छ । विश्व बैंकबाट पनि प्राप्त हुने तथ्याङ्कमा आधारित हुने अक्सफामको प्रतिवेदनले स्वास्थ्यस्याहार, भोकमरी, लैङ्गिक हिंसा र जलवायुका असरले प्रत्येक चार सेकन्डमा एक जनाको मृत्यु गराइरहेको जनाएको छ ।
उसले १६ करोडभन्दा धेरै मानिसहरू दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेको जनाउँदै कोभिड नभएको भए त्यसो हुँदैनथ्यो भनेको छ । विश्व बैंकले दैनिक ५.५० डलरको कमाइको आधारलाई उच्चमध्यम आय भएका देशको गरिबी मापन गर्न प्रयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here