नेपाली कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी दर्ता

    
 

काठमाडौ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिवार ५ बजेसम्म तय गरिएको समयसीमाभित्र ६ नेताले सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

वर्तमान सभापति शेरबहादुर देउवा सहित, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उपसभापति विमलेन्द्र निधी र युवा नेता कल्याण गुरुङ र युवराज न्यौपानेले प्यानलविना एकल उम्मेदवारी दर्ता गराएका छन्।

सभापतिमा यसअघि देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएका छन्।

पौडेलले शनिवार एक वक्तव्य जारी गर्दै आफू प्रतिस्पर्धाबाट अलग भएको बताएका थिए। सिटौलाले आफ्नो समर्थन देउवालाई रहे पनि आफू सक्रिय राजनीतिबाट अलग रहने बताए।

देउवाको समूहबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्ण बहादुर खड्कालाई अगाडि सारिएको छ। त्यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।

सिंहको समूहबाट उपसभापतिमा कोइराला परिवारकी सुजाता कोइरालाले उम्मेदवारी दर्ता गराएकी छन् भने महामन्त्रीमा यसअघि सभापति देउवा निकट रहेका विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन्। सिंहले सबै पदमा आफ्नो प्यानल बनाएका छैनन्।

कोइराला परिवारका धेरै नेताहरूले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन्। शेखर कोइरालाको समूहबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार बनेका छन्। यो समूहको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार छन्। थापाले यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

कांग्रेसको पार्टी विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ।

विसं २०७२ सालमा भएको १३औँ महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट मात्रै सभापति चयन भएको थियो। मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति देउवाले आफूले कांग्रेसलाई बहुमत दिलाउने बताए। सभापतिका अर्का उम्मेदवार निधीले पनि आगामी निर्वाचनबाट नेपाली कांग्रेसलाई बहुमत दिलाउने बताएका छन्।