वायु प्रदुषणका कारण पाकिस्तानका विद्यालय र कार्यालयहरु सोमबारसम्म बन्द

अन्तर्राष्ट्रिय खबर, लाहोर । पाकिस्तान सरकारले लाहोरका निजी कार्यालय र विद्यालय आगामी सोमबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ। सरकारले बढ्दो वायु प्रदुषणको तह कम गर्न तीन दिनका विद्यालय र कार्यालय बन्द गर्न निर्देशन दिएको हो।
स्थानीयबासीले वायु प्रदूणषका कारण स्वासप्रश्वास, आँखा र नाकमा समस्या उत्पन्न भएको भन्दै उजुरी हालेका थिए। सो उजुरीपछि बुधबार त्यहाँको वायु गुणस्तर निगरानी विभागले पाकिस्तानको लाहोरलाई संसारको सबैभन्दा वायु प्रदूषित शहर घोषणा गरेको थियो।
पाकिस्तानको लाहोरदेखि कराचीसम्मको एआइक्यु ३४८ पुगेसँगै वायु प्रदुषणले खतराको अवस्था पार गरेको बताइएको छ।
तीन दिनसम्म विभिन्न निजी कार्यालय र विद्यालय बन्दले वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन्। त्यहाँको सरकारले स्थानियलाई मर्निङ वाक नगर्न र अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सूचना जारी गरेको छ।
पाकिस्तानको वायु प्रदूषण बढाउनमा लाहोरमा रहेका ३ सय औद्योगिक कारखाना जिम्मेवार रहेको अधिकारीहरुले बताएका छन्।