प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज रसुवामा हुने

    रसुवा, कार्तिक – २२ । रसुवा जिल्लामा प्रथम हाई अल्टिच्युड रसुवा माउण्टेन बाइक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १८ गते आयोजना हुने जानकारी गराएको हो ।
    बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद् तथा जिल्ला साईक्लिङ संघ, रसुवाको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुनेछ । जिल्ला खेलकुद विकास समिति रसुवा र नेपाल साईक्लिङ संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
    प्रतियोगिता कालिका गाँउपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्ति बजार, लामाटोल, गुम्बाडाडा, स्याउबरी हुँदै गणेश हिमाल र त्रिशुलीको रमणीय दृष्य हेर्दै नौकुण्ड गाँउपालिका लोकिल, आरुखर्क, गोर्मु, किमोर्जोङ, खाल्चेत, जिवजिबे हुँदै ३५ किलोमिटर पार गरी कालिका हिमालय क्याम्पसमा अन्त्य हुनेछ ।
    प्रतियोगिता पुरुषतर्फ एलिट, जुनियर र मास्टर विधामा तथा महिलातर्फ एलिट विधामा प्रतिपस्पर्धा हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा राष्ट्रिय र स्थानीय गरी करिब १ सय ५० जना सहभागी हुने अपेक्षा गरिएको छ । विदेशी प्रतिस्पर्धीलाई समेत समावेश गराइनेछ ।
    एलिटतर्फको शीर्ष तीन स्थान हात पार्नेले क्रमश नगद रु ४० हजार, २० हजार र १५ हजार हात पार्नेछन् । त्यस्तै चौथोदेखि दशौं स्थानसम्मका प्रतिस्पर्धिले ७ हजार ६, हजार, ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार प्राप्त गर्नेछन् । मास्टर र जुनियरतर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्नेछन् ।

    चौथोदेखि दशौं स्थान हुनेहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । खेलाडीहरुले मंसिर १० गतेसम्म अनलाइन फारम भर्नुपर्नेछ । दर्ता शुल्क १ हजार रुपैयाँ रहेको आयोजकले जानकारी गराएको छ ।

    साहसिक खेलकुदको विकास तथा सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगिताबाट सो क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुने अपेक्षा उनले ब्यक्त गरे । ( source:rasuwafm)

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here