प्रधानसेनापति प्रभुराम शर्मा भोलि भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि भोलि मंगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् ।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने भएका छन् । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने छन् । उनको भ्रमण कात्तिक २३ देखि २६ गतेसम्म हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here