आज महाकबि देवकोटाको जन्मजयन्ती; मानवतावादी विद्रोही कबिका जिबनी, आदर्श र रचनाहरु

कार्तिक – १८ । देवकोटाले मृत्युशैय्यामा पनि ‘प्रजातन्त्र मर्न नपाओस्, फलोस्, फुलोस्’ भनेर आफूलाई प्रजातन्त्रका प्रवल समर्थक सिद्ध गरे।
वास्तवमा एउटा असल कवि युगद्रष्टा एवं भविष्यस्रष्टा हुन्छ। वर्तमान विशृंखल मानव जीवनलाई नयाँ तरिकाले व्यवस्थित गरेर लोकमंगलको प्रतिष्ठा गर्नुका साथै भावी मानव जीवनलाई समेत मंगलमय बनाउने दिशामा शतत् प्रयत्नशील हुनु कवि कर्तव्य हो। भू–मानवका मंगलपथलाई आलोकमय बनाउन नेपाली वाङ्मय जगत्का वरद्पुत्र युगकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्युपर्यन्त रोग, भोक र शोकसँग संघर्षमय जीवन बिताउँदा पनि आफ्नो कविकर्मलाई पूर्णरूपमा सार्थक तुल्याएका थिए।
मानववादी लक्ष्मीप्रसाद देवकोटा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गौरव गर्न सकिने नेपालका एक सशक्त महान् प्रतिभा र राष्ट्रिय विभूति हुन्। नेपाली कवितालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने बहुमुखी प्रतिभाका धनी देवकोटाले नेपाली साहित्यका विविध विधामा कलम चलाई नेपाली साहित्यलाई धनी र समृद्ध बनाउने कुरामा ठूलो योगदान पुर्‍याएका छन्। साँच्चिकै भन्ने हो भने आफ्नो सर्वस्व त्यागेर र स्वयं आफूलाई नै मेटाएर नेपाली साहित्यलाई समृद्धि र अमरता प्रदान गर्न महाकविले एउटा अविस्मरणीय उदाहरण प्रस्तुत गरेका थिए। सिंगो साहित्यको इतिहासको सिर्जना गर्नुभएको छ।
सरस्वतीका वरद्पुत्र देवकोटाले (१९६६–२०१६ साल) युगको अर्थनीति, राजनीति, समाजनीति, शिक्षानीति, सभ्यता, संस्कृति, साहित्य सबै क्षेत्रमा गहन चिन्तन–मनन् गरेर एवं समाजका साना–ठूला समस्यामाथि दृष्टि निक्षेप गरेर मानवीय आदर्शको मूल्य मान्यतामाथि आवाज उठाएका थिए। असन्तुलित सामाजिक व्यवस्था र अन्तर्विरोधहरूबाट निर्मित उनको व्यक्तित्वले कविमा असीमित मानवीय भावना सिर्जना गरेर देवकोटालाई महाकवि साथै महामानवको उच्च सिंहासनमा पनि प्रतिष्ठित गर्‍यो। कविता–यात्राको प्रारम्भदेखि नै महाकविका कविताहरूमा जुन उदारतावाद र दीनदुःखीको सेवा, भावना र कल्याण कामना देखिएको हो। उनको परवर्ती रचनाहरूमा यो मानवतावादी भावना क्रमशः बढ्दै गएको पाइन्छ। कविले सम्पूर्ण जीवन जनकल्याणकारी भावनाको प्रचार–प्रसारमै लगाएको देखिन्छ। मानववादी भावनाका कट्टर समर्थक देवकोटाले मानवीय सेवालाई नै सबैभन्दा ठूलो कर्म ठानेका थिए। मन्दिर धाउनुभन्दा दीनदुःखीको सेवा गर्नेतर्फ उत्प्रेरित गर्दै कवि भन्छन्–
‘फर्क फर्क हे जाऊ, समाऊ
मानिसहरूको पाउँ…
यस्ता अमर भावनाका रचयिता मानवप्रेमी देवकोटा साँच्चिकै मानव–कल्याणका लागि समर्पित कवि हुन्। उनीद्वारा प्रदत्त यस्ता अमर सन्देश अभिनन्दनीय र प्रशंसनीय हो। युगयुगसम्म हामीलाई प्रेरणा र प्रकाश दिनेछन्, यस कथनमा अत्युक्ति छैन। देवकोटा प्रजातन्त्रप्रेमी, स्वतन्त्रता तथा समानताका हिमायती तथा मानववादी कवि थिए। २००४ सालमा ‘युगवाणी’का सम्पादन (वनारसबाट) गरेर उनले नेपाली जनताको संघर्षलाई वाणी दिनुभयो। २००५ सालमा ‘पहाडी पुकार’द्वारा कविले सामाजिक विकृतिका यथार्थ चित्रण गरेर समाजलाई उद्बोधित गरेका हुन्–
मर्नु त एक दिन अवश्यै पर्छ,
पशु झै न जिऊँ
मानिस हुँ भने, मानिसझैं जिऊँ,
मानिसको हक लिऊँ।
त्यस्तै ‘रावण–जटायु युद्ध’मा पनि कविले असत्य र अन्याय जत्तिकै शक्तिशाली भए पनि आखिर विजय सत्य र न्याय कै हुन्छ। यस शाश्वत सत्यलाई जनसमक्ष ल्याएका छन्। महाकविका “झंझारप्रति’, ‘बाढी कि विष्णुमती’, ‘बाघले बच्चा किन खान्छ’ आदि कविताहरूले जनजीवनमा क्रान्तिकारी चेतना र संघर्षलाई उत्कर्ष प्रदान गरेको पाइन्छ। युगका अग्रदूत कवि देवकोटाका उत्तरवर्ती रचनाहरूमा सामाजिक असंगति, अन्यायप्रति विद्रोह–व्यंग्यका स्वर झन्झन् टड्कारो हुँदै गएको देखिन्छ। ‘दाल–भात डुकु’, ‘प्रमिथस’, ‘छहरा’, ‘हुरीको गीत’, ‘हामी नेपाली’जस्ता अनेकानेक कविताको माध्यमबाट उनी मानवमाथिको अन्याय, अत्याचारविरुद्धका आवाजलाई आफ्नो मानवतावादी भावना अभिव्यक्त गर्ने गरेको पाइन्छ। समाजको प्रगति, दीनदुःखीको कल्याण, नेपालीका सुन्दर भविष्य, विश्व–शान्ति र मानवजातिका कल्याणका मंगलमय कल्पनामा उनी सधैं डुबेका हुन्थे।
जीवनभरि नै प्रजातान्त्रिक संघर्षलाई प्रेरणा र सहयोग दिएका देवकोटाले मृत्युशय्यामा पनि ‘प्रजातन्त्र मर्न नपाओस्। फलोस्, फुलोस्’ भनेर आफूलाई प्रजातन्त्रका प्रबल समर्थक सिद्ध गरेका हुन्। विपरीत परिस्थितिहरूमा पनि आशा र आस्था प्रदान गरिने र प्रेरणाका अमर स्रोत बनेर उत्साह दिने देवकोटा–काव्य नेपाली साहित्यका अमर निधि हुन्। आफ्नो युगका स्पन्दन राम्ररी बुझ्ने युगकवि देवकोटाले २०१४ मा रुसको तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा साहित्य जगत्लाई दिएको यो सन्देश अत्यन्त उपयोगी र अनुकरणीय सिद्ध भएको देखिन्छ। देवकोटाले भनेका थिए– ‘अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्न लेखकले बढी फलदायी ढंगबाट काम गर्नु परेको छ। उसका अगाडि ज्यादै उत्तरदायीपूर्ण र ज्यादै कठिन कार्यभार छ। जुन उसले जीवनका कठोर अवस्थाहरूमा आफूले बहन गर्नुपरेको छ। लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ। परन्तु ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन। उसले जनतामा भिज्नुपर्छ, जनताबाट सिक्नुपर्छ। समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि आत्मा खोतल्नु पर्छ।’
स्पष्ट छ कि युगको आकांक्षा र आवश्यकतासित आफ्ना भावना र आकांक्षा जोडेर मानवता–उत्थानका लागि जीवनपर्यन्त उनी प्रयत्नशील रहे। यस सन्दर्भमा प्रसिद्ध कवि केदारमान व्यथितको विचार अत्यन्त महत्वपूर्ण छ– ‘मलाई जहाँसम्म लाग्छ, देवकोटाले धर्म, सम्प्रदाय, जाति, जात, वर्ण, लिंग आदिमा अन्याय, अत्याचार, शोषण र उत्पीडनपूर्ण सामन्तवादी व्यवस्थाबाट समाजलाई उन्मुक्त तुल्याई न्यायपूर्ण र शोषणरहित समाज–व्यवस्थाको जग बसाल्ने महत्वाकांक्षा नै अँगालेका थिए। अन्याय, अत्याचार, शोषणविरुद्ध प्रतिरोध एवं व्यंग्य विद्रोहको ज्वाला ओकल्ने उनका ‘साँढे’, ‘प्रभु जी’, ‘भेडो बनाऊ’, ‘झन्झावीर’जस्ता कविताले पनि उनको यही महान् आकांक्षा नै मुखरित गरेका छन्’ (एक व्यक्तित्व : अनेक दृष्टि, कुमारबहादुर जोशी)।
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचनम’मा विश्वास राख्ने कविले आफ्नो अनेकौं कवितामा मानव जातिलाई प्रगति र निर्माणतिर डोर्‍याउँछन्। त्यसैले हो, लक्ष्मीप्रसादले ‘कामी दाइ’लाई नै वास्तविक ‘विश्वकर्मा’ भनेर सम्बोधन गर्छन्। उनी भन्छन्–
‘कमै जस्तो कदम छैन, मर्म जस्तो आँखा
निर्माणझैं धर्म छैन, विजयझैं भाखा।’
मूलतः देवकोटा काव्यका केन्द्रविन्दु नै मानववाद हो। आफ्नो समाज र देशप्रति जागरण चेतनासहित अन्तर्राष्ट्रिय भावना अर्थात् विश्वमा सर्वत्र शान्ति, स्वतन्त्रता, समानता तथा विश्व भातृत्वका अमर भावना उनका कविताहरूमा सर्वत्र प्रकट भएको पाइन्छ। समाजमा व्याप्त अन्याय र अत्याचारका विरुद्ध मानवतावादी कवि विद्रोह गर्न यस्तो हुंकार पनि गर्छन्–
‘जब मानवले मानवलाई
मानव ठान्दैन साथी’
तब कड्कडाउँछन्
मेरा बत्तीसदन्ते बंगारा (पागल)।
वस्तुतः कविको यो क्रान्ति र विद्रोह चेतनाले उनको मानवतावादी भावनालाई नै तीव्रता र उत्कर्ष प्रदान गरेको देखिन्छ–
‘नेपाली भनेको त्यो हो जसले,
हाँसी हाँसी उत्री उठ्छन् खतरा पार।
जसले उठाउँछ विश्व जगाई
आजको युगका विश्वको भार…।
जस्तो आफ्नै पंक्तिहरूलाई जीवनमा चरितार्थ गर्ने देवकोटा’लाई हिन्दीका विख्यात विद्वान् साहित्यकार राहुल सांकृत्यायनले भनेको मई १९५३ का कथन कति महत्वपूर्ण र सान्दर्भिक ठहरिन आउँछ ? हेरौं, ‘देवकोटा नेपाली के पन्त, प्रसाद, निराला तीनो हैं, इसमें आतिशयोक्ति नही हैं।’ अन्ततः हामी यसै निष्कर्षमा पुग्छौं कि युगकवि देवकोटा एक मानववादी कविको रूपमा हाम्रोसामु मानव एकता, मानव समानता र विश्व–बन्धुत्वका आदर्श लिएर विश्व–कल्याण कामनामा समर्पित हुनु भएको देखिन्छ। देवकोटा साहित्यको महत्वलाई बुझेर देवकोटाका अप्रकाशित कृतिहरू प्रकाशित गर्ने, अनुसन्धान गर्ने र यसलाई प्रोत्साहित गर्ने दायित्वबोध हामी सबैमा आउनुपर्छ। देवकोटाका नाममा संग्रहालय बनाएर प्रज्ञा–प्रतिष्ठानले महाकविलाई सम्झिरहने बाटो चाँडै खुला गरोस्।
(annapurnapost)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here