बिहीबार देखि क्रमिक रुपमा मौसममा सुधार हुँदै जाने; मौसम पूर्वानुमान महाशाखा

कार्तिक – २ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।

‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताए ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ ।’महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।
हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ । प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराइएको छ ।

विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here