दुई सिस्टम मिसिँदा नेपालमा अत्यधिक वर्षा ; आज र भोलि भारी बर्षाको सम्भावना

कार्तिक – २ । बंगालको खाडी तथा मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा देशभर मौसम बदली भएको छ। पश्चिमी भूभागमा अत्यधिक वर्षा भइरहेको छ। 

‘जब यी दुईवटा सिस्टम मिसिन्छन् तब यसले अत्यधिक वर्षा गराउँछ’, जल तथा मौसम विज्ञान विभागकी सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलले भनिन्। नेपालमा भएका अधिकांश घटना हेर्दा दुई सिस्टम मिसिएपछि ‘गम्भीर प्रकृति’का वर्षा भएको पाइएको कँडेलको भनाइ छ। 
बागमती, गण्डकी र प्रदेश १ का उत्तरी भू–भागमा आइतबार वर्षा भएको थियो। उक्त  सिस्टम सोमबार पश्चिमतिर सरेको उनले बताइन्। भनिन् ‘सबैभन्दा धेरै सुदूरपश्चिममा सरेको छ। त्यहाँका ५–६ वटा स्टेसनमा सय मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ।’ लुम्बिनी, पोखरा, कास्की, गुल्मी, पर्वतलगायत स्थानमा पनि ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। तर, कतिपय स्थानमा स्टेसन नहुँदा मापन गर्न नसकिएको उनले बताइन्। 
विभागको तथ्यांकअनुसार चौबीस घण्टा (सोमबारसम्म)मा सबैभन्दा धेरै डडेलधुरामा १६८.८ मिलिमिटर वर्षा भएको छ। दिपायलमा ९५.३, धनगढीमा ८० मिलिमिटर र अन्य स्थानमा योभन्दा कम पानी परेको छ  । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू–भागमा सामान्य बदली भएको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भने भारी वर्षा भएको छ। 
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित वर्षा भएको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा अझै भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ। हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ। 
मंगलबार र बुधबार पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली नै हुने सम्भावना छ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र प्रदेश १ मा भारी वर्षा हुन सक्ने जनाइएको छ। बागमती र प्रदेश २ का थोरै ठाउँमा मेघ जर्गनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मंगलबार राती पनि सोही क्रम जारी रहने अनुमान विभागको छ। 
बुधबार प्रदेश १ र २, बागमती, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। अन्य ठाउँमा पनि मेघ जर्गन र चट्यांङसहितको मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here