मेटाभर्सको बिकासले ईन्टरनेट, फेसबुक लगायत सामाजिक संजालमा आमुल परिवर्तन आउने

    
 

फेसबुकका मार्क जकरबर्ग र इपीक गेम्समा टीम स्वेनेजस्ता प्रविधिका चर्चित व्यक्तित्वहरूले मेटाभर्समा लगानी गरेका छन्।

प्रविधि कम्पनीहरू र विश्लेषकहरूले इन्टरनेटको अबको परिवर्तनकारी सोचका रूपमा मेटाभर्सलाई मानेका छन्।

के हो त मेटाभर्स ?

आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूप जस्तो लाग्न सक्छ तर प्रविधिका केही व्यक्तिहरूका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो।

सन् १९८० को दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।

सबै खाले डिजिटल प्रविधिको दुनियाँमा छिर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गर्न सकिन्छ।

अहिले भर्चुअल रियालिटी धेरै जसो कम्प्युटर गेम खेल्न प्रयोग गरिन्छ तर मेटाभर्समा त्यो उपकरण काम, खेल, कार्यक्रम, चलचित्र वा गफगाफ सबैका लागि प्रयोग गर्न सकिन्छ।

धेरै मानिसहरूले यसलाई आफ्नै त्रिआयामिक प्रतिनिधित्व हुने पनि मान्छन्। तर मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेको कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने छैन।

कसरी मेटाभर्स चर्चित भयो त?

प्रविधिमा समय-समयमा कुनै नयाँ सोचहरू चर्चित बन्छन् र केही समयपछि बिलाएर पनि जान्छन्। तर मेटाभर्सका बारेमा धनी लगानीकर्ताहरू र ठूला प्रविधि कम्पनीले रुचि देखाएका छन् र यो कतै इन्टरनेटको भविष्य बनिहाल्यो भने पछाडि पर्न कोही चाहँदैनन्।

र अहिले सोच मात्रै भए पनि भर्चुअल रियालिटी र इन्टरनेटको गतिको विकासका कारण यो छिटै प्रविधिका रूपमा आउन सक्ने सम्भावना पनि छ।

फेसबुक किन संलग्न छ?

फेसबुकले मेटाभर्सको विकासलाई आफ्नो ठूलो प्राथमिकता रहेको बताएको छ। भर्चुअल रियालिटीमा ओकुलस उपकरणमा ठूलो लगानी गरेको फेसबुकले सो टाउकोमा लाउने उपकरण प्रतिस्पर्धीहरूभन्दा सस्तोमा बेचिरहेको छ।

प्रतिस्पर्धी कम्पनीहरू नै किन्ने इतिहास रहेको फेसबुकले मेटाभर्स छिटै र कुनै एक कम्पनीले निर्माण गर्न नसक्ने बताउँदै अन्य प्रविधि कम्पनीसँग समन्वय गर्ने बताएको छ।

फेसबुकले हालै मेटाभर्स जिम्मेवारीपूर्ण तरिकाले विकास गर्न सहयोग गर्न गैरनाफामूलक समूहहरूलाई पाँच करोड अमेरिकी डलर लगानी गरेको छ। फेसबुकले मेटाभर्सको विकास गर्न अर्को १० देखि १५ वर्ष लाग्ने बताएको छ।

रोबलक्सजस्ता अन्य गेमहरू पनि मेटाभर्सको सोचको वरपर रहेका छन्।

त्रिआयामिक प्रविधि निर्माता युनिटीले हाम्रो विश्वको डिजिटल नक्कल बनाउन लगानी गरेको छ भने एनभिडिया नामक ग्राफिक्स कम्पनीले ओम्नीभर्स नामक त्रिआयामिक विश्वहरू जोड्ने प्रविधि विकास गरिरहेको बताएको छ।

यस्तो प्रविधि छ र?

हालैका वर्षहरूमा भर्चुअल रियालिटीको राम्रो विकास भएको छ। यसका उपकरणहरू परिष्कृत मात्रै भएका छैनन् ती बिस्तारै आम मानिसले प्रयोग पनि गर्न थालेका छन्।

त्यस्तै फाइभजी प्रविधिको विकासले भर्चुअल विश्वहरू अझै परिष्कृत र पहुँचयोग्य हुन सक्छन्।

तर अहिलेका लागि मेटाभर्स सुरुआती अवस्थामै छ। तर यदि मेटाभर्स कुनै तरिकाले विकास भयो भने अर्को दशक वा त्योभन्दा लामो समय ठूला प्रविधि कम्पनीहरूले यसका लागि ठूलो खर्च र प्रतिस्पर्धा गर्ने पक्का छ।

(source : bbc)