आज राती हुने साफ च्याम्पियनसिपमा नेपाल र भारत मध्य को बिजयी होला ? इतिहास सगै एक विश्लेषण

असोज – ३० । फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।

भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।

शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।

नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।

जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि।

इतिहास

निश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ।

त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।

उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्।

साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।

नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो।

तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।

एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो।

नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ।

फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् – “जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।”

नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।

गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो।

साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।

हतियार

यी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्।

निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।

जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।

ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्।

दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।

नेपालसँग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।

माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् – “अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।”

हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्।

जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।

फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो।

त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।

प्रशिक्षक भिडन्त

साफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो।

सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।

त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।

जबाफमा इगोरले भनेका थिए – “अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?”

रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्।

माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।

पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ।

अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका ‘एक प्रतिशत मात्र रहेको’ भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।

“खेल आज राती ९ बजे बाट सुरु हुनेछ ।”

(Source : nepal/sport/bbc )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here