नेकपा माओवादी (केन्द्र) ले छानेका ४ मन्त्रीका राजनैतिक पृष्ठभुमि !

असोज – २१ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट गरेको छ ।

मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने । यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन्  । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दोहोरिएका थिए । बाँकेका सांसद महेश्वर गहतराज र धनुषाकी सांसद बोधमायाकुमारी यादव पनि मन्त्रीको छनोटमा परेका छन् । यीमध्ये यादवले राज्यमन्त्री पाउनेछिन् । बाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पौडेल यसअघि एकपटक पनि मन्त्री बनेका छैनन् ।

माओवादी केन्द्रबाट मन्त्री हुन लागेका नेताहरुको यस्तो छ ब्यक्तिगत विवरण :

शशी श्रेष्ठ

नेतृ शशी श्रेष्ठ नेपालको वामपन्थी आन्दोलनमा पुरानो इतिहास बोकेकी सांसद हुन् । पारिवारिक हिसाबले पनि उनी राजनीतिमै जोडिएकी छिन् । चर्चित वाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी रहेकी उनी माओवादी नेता लीलामणि पोखरेलकी जीवनसंगिनी हुन् ।
काठमाडौंकी समानुपातिक सांसद श्रेष्ठ यसअघि राज्यमन्त्रीसम्म बनेकी थिइन् । संसदीय समितिको सभापति रहँदा पनि श्रेष्ठले राज्यमन्त्री सरहको सुविधा पाएकी थिइन् ।  श्रेष्ठलाई मन्त्री बनाइएपछि अब राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद खाली भएको छ ।
२०३६ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन समूहबाट औपचारिक रूपमा पार्टीगत राजनीति सुरु गरेकी श्रेष्ठले २०३७ सालमा कम्युनिष्ट पार्टीको पूर्णकालीन सदस्यता पाएकी थिइन् । स्थायी ठेगाना कोटेश्वर, काठमाडौं भएकी प्रस्तावित मन्त्री शशी श्रेष्ठ काभ्रेको मंगलटारमा जन्मिएकी हुन् ।
२०३८ साल तथा २०४२ सालसम्म जेल जीवन भोगेकी उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक भूमिगत जीवन र प्रहरी हिरासतको अनुभव भोगेकी छिन् ।
स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठले २०३४ सालदेखि विद्यार्थी राजनीतिमा सुरु गरेकी थिइन् । २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी उनी २०४० सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएकी थिइन् ।
२०५५ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, २०५९ सालमा जनमोर्चाको सचिवालय सदस्य र २०६५ सालमा माओवादी केन्द्रीय सदस्य भएकी उनी २०७१ सालमा  माओवादी पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य भएकी थिइन् ।
२०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । यस्तै २०७५ सालमा उनी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति भएकी थिइन् ।
माओवादी पार्टीमा उनी नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पूर्वएकताकेन्द्र समूहबाट एकता प्रक्रिया हुँदै आएकी हुन् । पूर्वएकताकेन्द्र समूहबाटै अञ्जना बिसंखेलाई मन्त्री बनाउने चर्चा चलिरहेका बेला स्थायी कमिटीले बरिष्ठ नेतृ शशी श्रेष्ठलाई रोजेको छ । श्रेष्ठ सादगी छवि भएकी नेतृका रुपमा चिनिन्छन् ।

देवेन्द्र पौडेल

बिद्यार्थी संगठन अखिल छैठौंबाट राजनीति सुरु गरेका प्रस्तावित मन्त्री देवेन्द्र पौडेल हाल माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुन् ।बागलुङ नगरपालिका १२, अमलाचौर स्थायी ठेगाना भएका पौडेल २०२१ साल पुस २८ गते जन्मिएका थिए । उनको परिवारमा श्रीमती र एक छोरी छन् । राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी बिद्यार्थी राजनीतिबाट अगाडि बढेका थिए ।
अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेका पौडेल २०५२ सालबाट माओवादीमा आवद्ध भई सशस्त्र संघर्षमा सहभागी हुँदै २०५७ सालमा केन्द्रीय सदस्य, २०६२ सालमा पोलिटब्युरो सदस्य र २०७१ सालमा माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका थिए । २०६८ सालमा उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।  
पार्टीको अञ्चल र विभिन्न ब्युरोमा इञ्चार्जको भूमिकामा निभाएका पौडेल २०७५ सालमा तत्कालीन नेकपाको स्थायी समिति सदस्य थिए । उनी २०७४ सालमा बागलुङ क्षेत्र नंबर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।
राजनीति अघि कृषि पेशामा रहेका मन्त्री पौडेलको विशेष रचिको क्षेत्र  कृषि, विकास र साहित्य हो । उनको मार्क्सवाद र नेपाली क्रान्ति, नेपाली क्रान्तिका वैचारिक आधारहरू लगायतका राजनीतिप्रधान कृति पनि प्रकाशित भएका छन् ।
विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका पौडेल २०४२ सालदेखि २०४४ साल सम्म १८ महिना धनगढी जेलमा परेका थिए । दर्जनौं पटक गिरफ्तारीमा परेका उनी ६ महिना सदरखोरमा थुनिएका थिए । उनले पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन बिताएका थिए ।
माओवादी जनयुद्धमा लागेका बेला प्रचण्ड–बाबुरामबीचको अन्तरविरोधका बेला पौडेललाई बाबुराम पक्षको नेता भएको आरोपमा पार्टीभित्रैबाट विभेद भएको चर्चा चल्ने गरेको छ । पछि बाबुरामले नयाँ शक्ति बनाउँदा माओवादी छाडेर नयाँशक्तिमा लागेका उनी अन्ततः माओवादीमै फर्किए र बाग्लुङबाट चुनाव जिते ।
पार्टीभित्र लामो योगदान रहेका पौडेल इमान्दार र सरल नेताका रुपमा परिचित छन् । तर, एकपटक पनि मन्त्री बनेको अनुभव नभएका कारण उनको परीक्षा हुन बाँकी छ ।    

महेश्वर गहतराज

बिद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रस्तावित मन्त्री महेश्वर गहतराज ‘अथक’को स्थायी ठेगाना नेपालगञ्ज उपमहानगरपालिका १, बाँके हो । २०२८ भदौ १२ गतेर रुकुममा जन्मिएका गहतराजको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । उनले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
२०४५ सालमा अनेरास्ववियु वीरेन्द्र मावि बाँफीकोटको सचिवबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो । २०४८ सालमा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य रहेका उनी २०५१ सालबाट माओवादीको राजनीतिमा सक्रिय भएका थिए ।
२०५६ सालमा रुकुमको जनसरकार उपप्रमुख रहेका गहतराज २०५७ सालमा क्षेत्रीय ब्युरो प्रमुख तथा रुकुम इञ्चार्ज भएका थिए । २०५८ सालमा माओवादीको जुम्ला, मुगु र हुम्ला इञ्चार्जको भूमिका निर्वाह गरेका थिए ।
२०५९ सालमा बाँके, बर्दिया इञ्चार्ज रहेका उनी २०६० सालमा माओवादीको केन्द्रीय सदस्य  भएका थिए । २०६५ सालमा एकीकृत माओवादीको केन्द्रीय सदस्य तथा थारुवानको सेक्रेटरी भएका थिए । २०७३ सालमा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य र २०७५ मा तत्कालीन नेकपाको केन्द्रीय सदस्य भएका थिए ।  
गहतराज प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बाँके क्षेत्र नंबर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बोधकुमारी यादव

स्थायी ठेगाना धनुषा नगरपालिका १०, धनुषा भएकी प्रस्तावित राज्यमन्त्री बोधकुमारी यादव २०३१ साल कात्तिक २८ गते जन्मिएकी हुन् । माओवादी आन्दोलनका सहिद स्व.राम वृक्ष यादवकी छोरी रहेकी उनको परिवारमा श्रीमान, दुई छोरा र एक छोरी रहेका छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् ।
२०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध भएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।
यादव २०६० सालमा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी र २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भइन् । त्यस्तै, २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन् ।
राजनीतिक आन्दोलनका क्रममा २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म उनलाई नजरबन्दमा राखिएको थियो । उनले सहिद राम वृक्ष यादव स्मृति प्रतिष्ठान लगायतका सामाजिक संस्थाको पनि नेतृत्व गरेकी छिन् ।
पहिलोचोटि मन्त्री बन्न लागेकी उनलाई माओवादीले सहिद परिवार र मधेसी समुदायको कोटाबाट सरकारमा छानेको हो । यसअघि प्रदेश २ का मात्रिका यादवको नाम चर्चामा  आएको थियो । तर, यादव पहिले पनि मन्त्री भइसकेकाले सहीदपुत्री बोधकुमारीले यसपटक प्राथमिकता पाएको माओवादी नेताहरु बताउँछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here